नेकपा (एमाले ) का नेता तथा पुर्व कानुन मन्त्री पदम गिरीले रवि लामिछानेको विषय अदालती बिषय भएको बताउनुभएको छ । प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहान्छन , कार्यक्रममा बोल्दै गिरिले रविको बिषयमा अदालतले गर्ने फैसला वा निर्णय कुनै सरकार प्रमुखले निर्देशित गर्ने बिषय नभएको बताउनुभयो । अदालतमा विचाराधीन रहेको मुद्दाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्रीका बिरूद्द जस्तो भाष्य निर्माण गरिएको छ , त्यो अत्यन्तै निकृष्ट र पुर्वाग्रही छ गिरी ले भन्नू भयो ।
‘दुनियाँका कुनै शक्ति लागेपनि ०८४ सम्म नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन भत्किँदैन । कसैको आरोप, भ्रमले केही असर गर्दैैन । जनताको सार्वभौम संसद्बाट बनेको सरकार हो, कसैको आग्रहले केही अर्थ राख्दैन,’– गिरी ।
साथै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहेर वर्तमान सरकार नढल्ने उहाँको दाबी छ । प्रचण्डले सत्ता प्राप्ति र आफ्नो स्वार्थ पूरा गर्न विभिन्न अभिव्यक्ति दिने गरेको उहाँले बताउनुभयो । प्रचण्डको बोलीले वर्तमान सरकारको समीकरण परिवर्तन हुने कुरा सोच्नपनि नसकिने उहाँले बताउनुभयो
‘देश र जनतालाई केन्द्रविन्दुमा राखेर भन्ने भन्दापनि उहाँले सत्तालाई केन्द्रविन्दुमा राखेर बोल्नुहुन्छ । के बोल्दा सत्ता प्राप्ति हुन्छ, के गर्दाखेरी दलहरुको बीचमा विभाजन हुने र वितण्ड मच्चिन्छ र त्यसमा आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने दाउ र त्यो कोणबाट मात्रै उहाँले अभिव्यक्ति दिनुहुन्छ । प्रचण्डले के बोल्नुभयो भन्ने कुराले धेरै म्याटर गर्दैन,’– पदम गिरी
वर्तमान सरकारले अब गियर बदलेर कुद्न सुरुगर्या भन्ने बुझेर माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेशको विरोध गरेको उहाँको दाबी छ । नेता गिरीले अबको तीन वर्षको अवधिमा सरकारले देशमा आर्थिक कायापलट गर्नेगरी, अर्थतन्त्रमा नयाँ उभार ल्याउनेगरी काम गर्नका लागि आधार तयार गर्दैछ भन्ने कुरा बुझेर उनीहरुले अध्यादेशको विरोध गरेको उहाँले बताउनुभयो।
‘देश र जनताको जुन चाहना थियो, त्यो चाहनालाई छिटोभन्दा छिटो सम्बोधन गरेर मुलुकलाई तीब्र गतिमा विकासको बाटोमा लाने, आर्थिक विकासको बाटोमा, सुशासनको बाटोमा, सामाजिक न्यायको बाटोमा देशलाई कुदाउनका निम्ति, चार गियरमा हालेर गाडी कुदाउनका निम्ति यो ऐन आएको हो । यसलाई त स्वागत गर्नुपर्थ्यो,’– पदम गिरी ।